२१ डिसेम्बर २०१२

के गरुँ? कसो गरुँ? अति भयो, अब त अत्ति भयो रिस उठाउने पनि सिमा हुन्छ नि। आज पनि भने, मलाई नानाभाँति भने। मलाई त मान्छै सोच्दैनन्। गल्लीतिर हिड्ने कुकुरको बरु यत्तिको अपमान हुदैन होला। यो लिखुरे शरीर हेर्दा नराम्रो, ख्याउटे देखिनुमा मेरो के गल्ती? म शारीरिक बनावटमा अलि पछि छु होला तर यसमा मेरो के दोष? मेरा साथीहरु भनाउँदाहरुले जहिले पनि यही विषयमा किन मलाई अगाडी ल्याएर बेइज्जत गर्छन? के तिनीहरु मेरा साथी हुन त? अँह होइनन्, नत्र भने यसरी सधैँ मलाई किन दुःख दिइ रहन्थे? कतै म दलित भनेर हेपेका त होइनन्? सबै धर्म, जात बराबर हो भन्थेँ तर खोई समानता? के त्यो किताबमा मात्र सीमित छ? बाबुले छाडेर जानु भएको यो पुरानो घरको एउटा कालो कुनामा बसेर यस्ता कुराहरु सोचि रहन्थेँ। त्यो त मेरो दैनिक रुटिन जस्तै भइ सकेको थिये। म जस्तो हेपिएको मान्छेले यस्तो सोच्नु बाहेक अरु के नै गर्न सकथेँ र?

कलेजमा फेरि पनि मैले कक्षा टप गरेछु। मनमा कताकता खुशी लागेको थियो। खेलकुद र अन्य बाहिरी कुराहरुमा शरीरले साथ नदिए पनि शिक्षामा भने म सधैँ अगाडी हुन्थेँ। सायद यही भएर होला साथीहरुले मलाई डेडो नजरले हेर्थे। कति साथीहरुको प्रथम हुने सपना सधैँ मैले सिसा फुटाले झै झर्यामझुरुम पारेर टुक्रा टुक्रा पारिदिएको थिएँ। जीवनमा केही गर्नु थियो। आमा बाबु म एउटा वैज्ञानिक भएको हेर्न चाहनु हुन्थ्यो। त्यो सपना त्यसै खेर जान दिनु थिएन। सायद त्यही कारण म सङ्घर्ष गरिरहेको थिएँ, सारा भनाइहरु सहि रहेको थिएँ, दुःखका आसुँहरुलाई लुकाएर निन्याउरो अनुहारमा जबरजस्ती खुशी हालेर रोक्किएका पाइलाहरुलाई अगाडि बढाई रहेको थिएँ। ओई त्यासे! ल बधाई छ, ओई पाखे! फेरि पनि फस्ट भइछस् नि? खान नपा लिखुरे, सिन्का, सुइखुट्टे, लुते हुट्टिट्याइ ….आ….! कति हो कति। त्यस्ता नाम दिएको थिए मलाई साथीहरुले। कलेजको पाँच छ सय जनाले दिएको पाँच छ सयथरी नामहरु। झनै शिक्षकले के छ चस्मिस? भनेको सुन्दा त मलाई मेरो वास्तविक नाम नै छैन कि जस्तो लाग्थ्यो। डर थियो कतै बुवा आमाले राखि दिनु भएको प्यारो नाम मैले भुल्ने त होइन? कक्षामा पैथम हुदाँ पनि दुःखी छु। मलाई राम्ररी बभाई दिने कोही थिएन। म त्यो स्वार्थी संसारमा एक्लो थिएँ। मलाई दुःखी बनाउनमा त्यो समाज र त्यहीँ बस्ने स्वार्थी मान्छेहरुको पनि हात थियो। मेरो पनि पालो आउला, त्यो बेलामा म हासुँला, तिमीहरु रोउला, म मनमनै सोच्थेँ। म आफ्नो शुन्यताको संसारमा मौन भएर डुबि रहन्थे, केही बोल्दिन थिएँ। उनीहरुले बोलेको प्रत्येक कुराहरुलाई मात्र एउटा बनावटी हाँसोले टारि दिन्थेँ। बोलुँ पनि कसरी र्यागिङ्ग सुरु गरी हाल्थे। एकचोटि कसलाई पो हो जवाफ फर्काएको थिएँ, तिनीहरुले मलाई भअर्‍याङ्गबाट लडाइ दिएका थिए। त्यो बेला लडेको दुःखाइ आज पनि अनुभव गर्न सक्छु, त्यो बेला लागेको शारीरिक घाउ त निको भइ सकेको थियो तर मनको घाउ भने अझै आलै थियो। झन दिनहुँ ठूल्ठलो हुदै गई रहेको थियो।

कलेजमा स्पोर्ट उइक चलिरहेको थियो। विधार्थीहरु विभिन्न गेममा व्यस्त थिए। म पनि खेल्न भनेर छिर्दा उनीहरुले जानी जानी बलले हाने। नानाभाँति भन्न हुने सबै मनपरी बोले ….। त्यो दिन भने तिनीहरुले अत्तिनै गरेका थिए, अति गर्नु अत्याचार नगर्नु भन्छन, तर तिनीहरुको अत्याचारले सिमा नाघि सकेको थियो। अब त मेरो सहनशिलतापनि टुटिसकेको थियो। साझँ पनि पर्न लागिसकेको थियो त्यसैले म घर जाने बाटो तर्फ लागेँ। आकाश मडारिएर आइरहेको थियो। मेरो मनभित्रको रिस त्यो कालो मडारि रहेको कहिले एक आपसमा ठोकिएर धर्ती भिजाउन पाउँला भनी पर्खी रहेको बादलमा प्रत्यक्ष देखिइ रहेको थियो। एकै छिनमा बिजुली चम्किँदै आकाश थर्किदै मुसलधारे पानी पर्न थालि सकेको थियो। म जङ्गगल हुँदै आफ्नो घर तर्फ हिडिरहेको थिएँ। बाटो छेउका रुखहरु पनि मलाई देखेर हल्ली हल्ली हाँसी रहेका छन् जस्तो लाग्थ्यो, त्यो झरि रहेको पानीका थोपाहरुले पनि मेरो शरीरमा ठोकिँदै मलाई नै जिस्क्याइ रहेको छ जस्तो लाग्थ्यो। आकाशमा चम्केको बिजुली र बादल ठोकिएर आएको हावा, हुरी, ढुङ्गा, माटो रुझि रहेका पशु पन्छीहरुले पनि मलाई नै गिज्याइ रहेको हो कि जस्तो लाग्थ्यो। मनमा नानाथरी ख्यालहरु आइ रहेका थिए। संसारमा यसरी त के बाँच्नु! यस्तो जिन्दगी नि के जिन्दगी! मनमनै सोच्दै थिएँ। जीवनदेखि हारि सकेको थिएँ। आत्महत्या गर्ने सोचमा आफ्नो पाइलालाई गोरेटो बाटोबाट जङ्गगल तर्फ मोडेँ, मन र शरीर एक भएर घनघोर जङ्गल तर्फ म लम्कि सकेको थिएँ।

पानी पर्न बिस्तारै रोकिदै गइ रहेको थियो तर हावा हुरी भने झन् बढ्दै थियो। मान्छेलाई नै उडाउँला जस्तो गरी चलि रहेको हुरीले जङ्गगलका रुखहरुलाई चुनौती दिँदै थियो। रुखहरु पनि हुरीको चुनौती स्विकार्दै यताउती हल्लिँदै आफ्नो स्थानमा यथावत थिए। म निकै टाढा गइ सकेको थिएँ। विस्तारै विस्तारै अँध्यारो छाउन थाल्यो। जङ्गगलको त्यो कालो अँध्यारो हटाउदै माथिबाट जुनले बादलमा लुकामारी खेल्दै मलाई टुलुटुलु हेरी रहेको थियो। त्यत्रो ठुलो जङ्गगलमा म एक्लै थिएँ, मान्छेको मन त हो डर त लागि हाल्छ नि। बिस्तारै मेरो मनको कुनाबाट पनि डर को जन्म भइ रहेको थियो। जुनको मलिन उज्यालोमा म केही कुरा मात्र देखिरहेको थिएँ तर एक्कासी बादलको एउटा टुक्रा आएर जुनलाई लुकाइ दिँदा म अन्धकारमा रुमलिन वाध्य भएको थिएँ। अचानक मेरो अगाडी एउटा गुफा आएको थियो। न पहिले मलाई यहाँ आउने बाटो नै थाहा थियो, न कसैले यहाँ गुफा छ भनेको सुनेको नै थिएँ। ओडार भित्र के होला? भित्र जाउँ कि नजाऊँ? यो ठाउँमा म आइ पुग्नुको लक्ष्य के? भगमानले यो ठाउँमा मलाई किन डो¥यायो? कतै त्यो ओडारभित्र खजाना त छैन? कथाहरुमा दाउरेले जङ्गगलमा खजाना भेटेजस्तै कतै मैले पनि भेट्ने त होइन? के गरुँ गरुँ भयो। मलाई भित्र जाने इच्छा भयो …. तर भित्र राक्षस पनि त हुन सक्छ …., भुत प्रेत पनि त हुन सक्छ! एक्लै थिएँ। मुटु चिसो भइ सकेको थियो। मेरो एकोहोरो इच्छाको अगाडि डरको केही लागेन। अन्ततः मेरा पाइलाहरु इच्छाको इसारामा आफै अगाडि बढ्न थालि सकेका थिए। ओडार कालो थियो म मुटुको धड्कनलाई नआती भन्दै बिस्तारै भित्र छिर्दै थिएँ। अचानक एउटा कालो वस्तु फट्फटाउँदै मै भएतिर आयो। पुत्लो गयो मेरो, हंसले ठाउँ छोड्यो, मुटुको धडकन एकैचोटी बढेर आइसकेको थियो …..। एकछिन पछि थाहा भयो त्यो त एउटा बुढो चमेरो रहेछ। यस्तो लाग्छ त्यो चमेरो मेरो पर्खाइमा थियो, मेरो आगमनले त्यो चमेरो खुशी थियो र फड्फडाउँदै मेरो स्वागत गरि रहेको थियो।

अलिकति भित्र गुफामा एउटा मान्छेको आकृति भएको मुडा जस्तै केही पल्टि रहेको थियो। टाढाबाट ठम्याउन नसकेको त्यो चिज के होला? विस्तारै डराई डराई नजिकै गएँ, मान्छे नै रहेछ। हड्डी मात्र बाँकी रहेको मासु सबै कुहिसकेको, करिब एक–दुई वर्ष अघि मरेको होला। रहस्यमय तरिकाको एउटा कंकाल थियो त्यो। त्यो गुफाभित्र के–के न होला भनेर आफ्नो डर सँग सङ्घर्ष गर्दै गुफामा पसेको थिएँ। नियालेर हेरी राखेँ, त्यसले लगाएको लुगाको बगलीबाट कागजको एउटा छेउ देखिइ रहेको थियो। के गर्न भनेर आएको यो जङ्गगलमा म केमा झुलिरहेको थिएँ। म एउटा छुट्टै दुनियाँमा भुलि सकेको रहेछु। एकछिन त छुट्टै संसारमा जस्तो लागेको थियो तर मलाई एक्कासी घरको याद आइ दिँदा मेरो मनमा विवाद उत्पन्न भइ सकेको थियो। सारा कुराहरु भुलि सकेको थिएँ। त्यसैले मैले त्यो कागज फुत्त झिकेर आफ्नो घर फर्कन पुगेँ। घरमा पुगेर त्यही कालो कोठामा एउटा मलिन बत्तीको उज्यालोमा त्यो कागजमा लखिएको मधुरो अक्षर मेरा गिद्घका जस्ता अाँखाहरुले घुरि रहेका थिए। अचम्म लाग्यो, को होला? को होला त्यो मान्छे? कसरी त्यहाँ पुग्यो? त्यो मान्छेको गोजीमा यो कागज कसरी पुग्यो? कतै त्यो मान्छे चोर त होइन? यो कागज चोरेर भागेको र लुक्ने क्रममा त्यँही मृत्यु भएको या मान्छे वैज्ञानिक थियो, नत्र यस्तो मुल्यवान् कागजको टुक्रा त्यो मान्छेसँग कसरी हुन्थ्यो। हो त्यो कागजमा एउटा बम बनाउने फर्मुला थियो, एउटा त्यस्तो बम जसले संसार ध्वस्त पार्न सक्थ्यो। आज त्यो कागज मेरो हातमा थियो, त्यो सुत्र मेरो हातमा थियो। यो स्वार्थी संसार र यहाँका स्वार्थी मानिसहरु जसले सधैँ मलाई दुःख र पिडामात्र दिई रहे, तिनीहरुसँग बदला लिन दिएको भगवानको उपहारको थियो। खुशीले हो त्यो दिन मलाई मज्जाले निन्द्रा लाग्यो।

कलेजका साथीहरु सधैँको जस्तै मलाई जिस्क्याइ रहेका थिए, नानाभाती भनि रहेका थिए। पख तिमीहरुको अब बाँच्ने दिन धेरै छैन, जत्ति भन्नु छ भन्यौ, जत्ति रमाइलो गर्नु छ गराओ, यो सारा संसारलाई म आफुसँगै लिएर मर्ने छु। म मनमनै सोच्दै कसैको वास्तै नगरी सरासर त्यही कालो कोठामा गएर दिन रात त्यो बम बनाउन मिहिनेत गर्न थाले। भगवानको इच्छा पनि त्यही नै थियो क्यारे। म त्यो बम मनाउन सफल भएँ। जीवनमा म पहिलो पटक म ज्यादै खुशी भएको थिएँ। माथि कौसीमा गएर सहर हेरेँ ….होहल्ला, कोलाहल थियो। गाडीहरुको टिट टिट्ले, पसलतिर बजिरहेको रेडियोले, बाटामा बलि रहेका बत्तीहरुले मलाई साथीहरुले भनेका प्रत्येक कुराहरुको सम्झना दिलाइ रहेको थियो। कान नजिकै हुदैँ सिरसिर गर्दै जाने हावाहरुले मलाई त्यो बम पड्काउन उक्साइ रहेको थियो। तँ पनि जत्ति सक्छस् अन्तिम पल्ट जिस्क्या मलाई किनकि अब चाडै तँलाई हेर्न कुनै अाँखा यो संसारमा रहने छैनन्” मनमनै हाँस्दै भन्दथे। भोलि २१  डिसेम्बर २०१२  । मैले बम पड्काउने दिन सारा पृथ्वीको नास हुने दिन अनि यो ब्रह्माण्डबाट पृथ्वीको नाम र निसान मेटिने दिन।

समय आएको थियो, महिनौ मिहिनेत गरेर बनाएको बमलाई विस्फोट गरेर आफ्नो बदला लिने समय आएको थियो। साँझको बेला मैले त्यो बमलाई ‘‘न्ययम दथभ धयचमि, व्गकत नय तय जभिि ।‘‘ भन्दै २ मिनेटको टाइममा फिट गरि दिएँ। आफु भने भुईँमा गएर पलेटी मारेर बसेँ, आँखा बन्द गरेँ। शान्त छु, बलमे ट्याक ट्याक गरेको मात्र सुनिरहेको छु, त्यो ट्याक ट्याक सँगै मुटुको धड्कन धक धक गरी स्वर मिलाइ रहेको छ। समय निरन्तर आफ्नै गतिमा लम्किरहेको छ। बममा समय बिस्तारै घट्दै गइरहेको छ। १ः५५, १ः५४, १ः५३ …….कताकता ढोका कसैले ढक् ढक् गरेको हो कि लाग्यो। होइन मेरो मनको भ्रम मात्र होला जस्तो पनि लाग्यो। १ः१९, १ः१८, १ः१७ । एकछिन पछि फेरि ढक् गरेजस्तो लाग्यो …… जुरुक्क उठेँ। ०ः५३, ०ः५२, ०ः५१ …..ढोका खोलेँ …. सलाई चाहिएको रहेछ। पल्लो घरको हजुरबुवा नाति बोकेर मेरो ढोकाबाहिर उभि रहनु भएको थियो। ०ः३९, ०ः३८, ०ः३७ त्यस्तो बुढो मान्छे र बालक देखेर मलाई सोच्न बाध्य बनायो–संसारमा धेरै यस्तो बुढा बृद्घ मान्छेहरु पनि छन्, जसले मेरो केही बिगारेका छैनन्। जसको केही दोष छैन, जो यो संसारमा खुशी छन् र त्यस्तो भर्खर जन्मेका बालक पनि छन्, जसले संसार देख्नै छ ….। ०ः२१, ०ः२०, ०ः१९….यिनीहरुको के दोष? यिनीहरुलाई बाँच्ने पूर्ण अधिकार छ ….। माथि कौसीमा जान्छु, व्यस्त सहर देख्छु। सबै मान्छेहरु खुशी देख्छु जीवनलाई उपहार सम्झेर एकआपसमा मिलेर रमाइलो गर्दै जीवन बिताइ रहेको। व्यस्त सडक देख्छु, व्यस्त मान्छेहरु आ–आफ्नो घरमा स्वास्नी, लोग्ने छोरा छोरी, आमा बुवा, भान्जा भान्जी, दिदी बहिनी, दाजु भाइहरुसँग भेट्न आतुर। …..०ः११, ०ः१०, ०ः०९…….। हिजोआज म पनि कता कता दुःख मै रमाउन थालि सकेको थिएँ। विस्तारै मलाई पनि खुशीको अनुभव हुन थालेको थियो। हिजोअस्ति जिस्क्याउने ताराहरु गाडीहरु सडकका बत्तीहरु र सिरसिर गरी बगि रहेको हावाले मलाई “तैँले ठुलो गल्ती गर्दै छस्” भने जस्तो लाग्यो। ०ः०५, ०ः०४, ०ः०३ …

https://d19tqk5t6qcjac.cloudfront.net/i/412.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s