बेसार पुराण

बेसार के हो त सबैलाइ थाहा भएकै जिनिस हो। नेपाली भान्सामा छ्यास्छ्यास्ती जो पाइन्छ। तर “चामल कहाबाट आउँछ ” भनेर सोध्दा “किराना पसलबाट” भनेर जवाफ फर्काउनेहरुलाइ बेसार के हो? थाहा नहुन सक्छ। अब सुनाउन गएको बेसार पुराण त्यस्तै मनुष्यहरुको लागि हो। बेसार हेर्दा अदुवा जस्तै देखिने जमिन मुनि फल्ने कन्दमूल हो। बेसार धरी थाहा नहुनेहरुले फेरि “अदुवा चाहिँ के हो त?” भनेर प्रश्न गर्न सक्छ। अदुवा चाहिँ कचुर जस्तै देखिने जमिन मुनि फल्ने कन्दमूल हो। अब फेरि “कचुर के हो?” भनेर प्रश्न आउन सक्छ। यस्तो प्रश्नोत्तर-प्रश्नोत्तर खेलिराख्ने हो भने ” “बेसार पुराण” बेसार पुराण नभएर प्रश्नोत्तर पुराण हुन जान सक्छ त्यसैले आउनुहोस दुई हात जोडेर “ॐ बेसाराए नम:” जप गर्दै बेसार को नाम “बेसार” कसरी रहन गयो तिर लागौं।

करोडौं बर्ष अघिको कुरो हो, पृथ्वी लोकमा भयानक महामारी फैलिएछ। महामारीले मनुष्य जातिको अकाल मृत्यु भएपछि स्वयं ब्रह्माले एउटा बनस्पतीको सृष्टि गरेर एकजना ऋषिलाई स्वर्गमा बोलाछ र पृथ्वीमा बनस्पती लगेर सार्न अह्राएछ। ऋषिले पनि ब्रम्हाको आदेश अनुसार सोही बनस्पती लगेर पृथ्वीमा सारेछ। केही बर्षपछि त्यो बन्सपती जंगलमा फैलिएछ र माटो मुनि कन्दमूल फलाएछ। ऋषिले औषधि उपचार गर्न त्यो कन्दमूल बेस्सरी प्रयोग गरेछ, बेस्सरी प्रयोग गरौ, बेस्सरी प्रयोग गरौ भन्दा भन्दै दुई-चार पुस्ता पछि “बेस्सरी” शब्द बेस्सरी, बेसरी, बेसारी….. हुँदै बिग्रदै अन्त्यमा बेसार हुन गएछ। त्यहाँ उपरान्त त्यो कन्दमूललाई बेसार भनिन थालिएको हो भनेर शास्त्रमा उल्लेख गरिएको छ।

अब कुरा गरौ बेसारको खान्दान्को। बेसारको खान्दान हामिले जानेको, बुझेको र र्सोचेको भन्दा पनि निकै ठूलो छ। वास्तबमा भन्नुपर्दा बेसार जस्तै देखिने अदुवा बेसारको सौतेनी भाइ हो। अनि कचुर अथवा कर्चुर चाहिँ बेसार र अदुवाको पिता श्री हो। बेसारको आमा बारे भने कुनैपनी शास्त्रमा उल्लेख भएको पाइन्न। बेसार जस्तै रुप र रंग भएको अरु पनि धेरै कन्दमूलहरु छन्। उबेलामा बहु बिवाहको चलन भएकोले ती सब कन्दमूलहरु बेसारकै खान्दान हुन सक्ने अनुमान गर्न सकिन्छ । मामा माइजू, काका काकी, ठूलो बा, सानो बा…. हामिले सोच्न सक्ने सबै नातागोता बेसारको पनि छ। साइनो खोज्दै र जोड्दै जाने हो भने संसारमा पाइने सबै कन्दमूलहरु बेसारको नाता पर्न सक्ने हुन सक्छ भनेर किम्बदन्ति पनि छ।

बेसार पुराण भन्दै गर्दा “बेसार किन पहेलो भयो?” भनेर भन्न त छुटाउनै भएन। बेसार पहेलो हुनुमा एउटा रोचक कथा बेदमा समेटिएको छ। अब सुन्नुहोस बेसार पहेलो हुनुको कथा ।

पहिले पहिले बेसार र अदुवा दुबै उस्तै रंगको थियो रे र स्वाद पनि उस्तै उस्तै नै थियो रे। एक दिनको कुरो हो बेसार र अदुवा लुकामारी खेल्दै थिए रे।

असूर्य: नाम ते लोका:

अदुवा गछ्यती निमिलनम् ।

बेसार: अन्विच्छति अहोरात्रम

रवि वर्ण विराजमानम् ।।

अर्थात लुकामारी खेल्ने क्रममा अदुवा लुक्ने पालो आएपछी अदुवा सूर्यको प्रकाश नपुग्ने ठाउँ, असूर्य नाम गरेको लोकमा लुक्न गएछ अरे। बेसार भने चर्को घाममा यता उता जता ततै अदुवालाइ खोज्दै हिडेछ रे, दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो, तर अँह अदुवालाइ देख्न सकेनछ रे। अदुवालाइ खोज्ने क्रममा चर्को घाममा धेरै हिड्दा हिड्दा बेसारमा घामको पहेलो रंग सरेर बेसार पहेलो हुन गएको भनेर बेदमा भनिएको छ।

ब्यास बाजेले लेख्न छुटाएको बेसार पुराणमा बेसारको प्रयोगको बारेमा पनि निकै गन्थन छ। मनुष्यको जीवनमा बेसारको प्रयोग प्रचिन काल देखि हुँदै आएको कुरो त तपाइहरुलाई ज्ञात भइसक्यो, अब कुरो गरौ के अनि कस्ता कामको लागि बेसार प्रयोगमा आउँछ त?

बेसार बहुउपयोगी बस्नस्पती हो। उबेलामा बेसार जंगलमा पाइन्थ्यो, मनुष्य जातिको संख्या बढ्दै गएपछी जंगल फडानी हुन थाल्यो र बेसार लोप हुँदै गयो। जंगलमा बेसार भेटिन मुस्किल भएपछी मानिसहरुले बिस्तारै बेसार घर छेउछाउ खेती गर्न थाले। उनिहरुले बेसारको महत्त्व बुझी सकेका थिए। बेसार विशेष गरि आयुर्बेदमा मात्र प्रयोग हुने गर्दथ्यो। शिर देखि पाउसम्म, मुटु देखी कलेजो सम्म, बाहिरी अंगहरु देखि भित्री अंगहरु सम्म, आँखा, नाक, घाँटी सबैको रोग बेसारले निको पारिदिन्थ्यो।

घाउ भयो? बेसार पिनेर दल्नुस एक हप्तामै घाउ निको हुन्छ, लुतो आयो? बेसार छदै छ नि, कुस्ट रोग, हृदय घात, खोकी, रक्तपित्त, आँखा रोग, मधुमेह, हड्डि मर्कियोस या भाचियोस बेसारले सब ठिक गरिदिन्छ। बेसारमा विष नस्ट गर्ने गुण हुन्छ भनेर ऋषिमुनीहरुले परापुर्व काल देखि नै ज्ञान बाड्दै आएको कुरो हो। बेसारको नियमित सेवन गर्नाले मदिरा पाचन क्षमता बढाउछ, यस्ले कलेजोलाइ क्षति हुन बाट जोगाउने कुरो पनि शास्त्रमा उल्लेख गरिएको छ। बेसारलाइ आयुर्बेदमा मात्र नभएर मानिसहरुले ऐशोआरामको लागि पनि प्रयोमा ल्याएको देखिन्छ। भोजन आकर्षक देखाउन होस या आफू आकर्षक देखिन होस्, कपडा रंगाउन होस या चित्र रंगाउन होस् जताततै यसैलाई प्रयोग गरिन्छ। जिउदो बोका देखि मरेको बोका सम्ममा यसैको प्रयोग भएको पाइन्छ।

यस्तो बहुउपयोगी बेसरलाइ सम्झेर हातमा जल लिनुहोस र ॐ बेसाराए नम: जप गर्दै जल अर्पण गर्नुहोस्।

जय बेसार ।

शुयष्मती

शुयष्मती
Digital painting by Birochan Malla, Model: Pooja Shrestha, Photo Referance: Photograph by Bikrant Man Shrestha

सात दिनको लगातार झरी पछि घाम उदाएको थियो । सफा आकाश, सफा मौसम, चारैतिर हरियाली, चराचुरुङ्गीको चिरबिर, नजिकै बगेको खोलाको आवाज । खोला ठूलो थियो, सधैको भन्दा अलिक ठूलो । खोला नजिकै एउटा झुपडी थियो । झुपडीको छानोको कुनाबाट धुवाको मुस्लो आइरहेको थियो । खरले छाएको छानोलाई टेको दिएको काठको खाँबोमा रंगहरु लत्पत्तिएको एउटा एप्रोन झुन्डिएको थियो र त्यही खाँबोमा अडेस लगाएर बसेको थियो एउटा काठको इजेल । झुपडी भित्र एकजना अधबैंसे पुरुष ढुंग्रोले अगेनोमा फुक्दै आगो बाल्न संघर्ष गर्दै थियो । पानीमा भिजेको दाउराबाट आगोको लप्का भन्दा धेरै धुवाको मुस्लो निस्किरहेको थियो ।

सम्भार एउटा चित्रकार थियो । ऊ प्राय: एक्लै बस्न रुचाउथ्यो । जंगलमा एक्लै आउने र महिनौ प्रकृतिसंग घुलमिल भएर चित्र कोर्ने गर्दथ्यो । प्रकृति र मानिस बिचको सम्बन्ध उसको पेन्टिङहरुमा प्रष्ट देख्न सकिन्थ्यो । काम गरिरहेको बेलामा उसलाइ अरुले अनावश्यक दख्खल दिएको पटक्कै मन पर्दैनथ्यो र यस कारण पनि ऊ जंगलको एकान्तमा आएर चित्र कोर्ने गर्दथ्यो ।

ऊ कालंगा जंगलमा बिगत १५ दिन देखि बस्दै आएको थियो । बिहानै चराचुरुङ्गीको चिरबिरसंगै उठ्ने, नजिकैको खोलामा गएर नुहाउने, खाना नास्ता बनाएर खाने अनि दिनभरी प्रकृतिको काखमा रमाउने उसको दिनचर्या बनेको थियो । सात दिन लगातार झरी परेको कारण ऊ झुपडी भित्र बस्न बाध्य भएको थियो । पानी पर्नु अघि कोरिएका पेन्टिङहरुलाई झुपडी भित्रै बसेर पूर्ण गरिसकेको थियो । खाना नास्ता खाएर एप्रोन, इजेल, ब्रस, रंगहरु इत्यादी बोकेर सम्भार जंगल तर्फ लम्किने गर्दथ्यो । अलि परको खोलामा जान्थ्यो, एक बोतल पानी भर्ने गर्दथ्योे र ढडिया बिछ्याउथ्यो । त्यो ढडिया पनि सम्भारले आफै बनाएको थियो । बाँसको कप्टेराबाट निकै मिहिनेत गरेर बनाएको ढडियामा प्रायस् सधै माछा पर्ने गर्दथ्यो ।

जंगल घना थियो । चारैतिर अग्ला अग्ला रुखहरु थिए । सयौँ शिशिर र सयौँ बसन्त पार गरिसकेका रुखहरु । जंगलमा एउटा छुट्टै बास्ना थियो । ताजा अनि स्वच्छ हावामा जंगलको बास्ना सम्भारलाई असाध्यै मन पर्दथ्योे । रुखबाट झरेका पात पतिङ्गरले ढाकेको गोरेटो बाटो, बाटै ढाक्नेगरी उम्रिएका झारहरु, झारहरुमा फुलिरहेका फूलहरु अनि ती फूलहरुमा झुम्मिएका माहुरी, भमरा र पुतलीहरु । रुखको चेप र पातहरुको कापबाट बाटोमा परेका घामका किरणहरुले सो बाटो जाज्वल्यमान गराइरहेका थिए । हेर्दै लालायित हुने खालको दृश्य देखेर सम्भारले इजेल भुईंमा अड्यायो र त्यहा एउटा पेन्टिङ बनाउने निर्णय गर्यो । एउटा चित्रकारले कुनै रमणीय दृश्य देख्नासाथ सो दृश्यलाई क्यान्भासमा कसरी उतार्ने भनेर परिकल्पना गरिहाले जस्तै सम्भारले पनि सो दृश्यलाई दिमागमा पेन्ट गरिसकेको थियो । वरिपरि बन्यजन्तु नभए पनि पेन्टिङमा भने उसले अनेकौ जनावरहरु बनायो । त्यस्तै चित्रको बिचमा एउटि युवती बनायो । घामको किरणहरु सिधै युवतिमा आएर ठोक्किएको थियो । पेन्टिङ हेर्दा यस्तो लाग्छ कि ती युवती ती जनावरहरुसंग कुराकानी गरिरहेकी थिइन । यस्तो लाग्छ कि त्यो युवती ती जनावरहरुको रानी थिइन् र जनावरहरु पनि युवतिको कुरा खुशीसाथ सुनिरहेका थिए ।

पेन्टिङ सकेर ऊ त्यही झुपडिमा फर्कियो । ढडियामा त्यो दिन पनि माछा परेको रहेछ । लगभग दुई पाउ जति माछा बोकेर उ झुपडी भित्र छिर्यो । बिहान घाममा सुकाएर गएको दाउराहरु मज्जाले बल्दै थियो । माछा भात खाएर एउटा चुरोट सल्कायो र स्लिपिङ ब्यागमा छिरेर (मट्टीतेलबाट बल्ने) टुकि बत्तिको मलिन उज्यालोमा दिउसो बनाएको पेन्टिङ हेर्दैथियो । उसलाई पेन्टिङ खल्लो खल्लो लाग्यो । केही नपुगे जस्तो, आफुले बनाएको चित्र आफैलाइ चित्त नबुझेसम्म सम्भारलाई राम्ररी निद्रा लाग्दैन थियो ।

बिहान चराचुरुङ्गीको चिरबिरले बिउझिन्थ्यो सम्भार । नित्यकर्म सकेर खाना खाएर ढडिया बिछ्याउदै जंगल तर्फ लाग्थ्यो । सधै हिडेको बाटो त्यो दिन उसलाइ अनौठो लागिरहेको थियो । हिड्न गाह्रो भएको जस्तो, पाइला नसरे जस्तो, आँखा कमजोर भएको जस्तो, हिड्दै जादा ऊ आफू कहाँ थियो पनि थाहा नभए जस्तो, सबै चिज नौलो नौलो, अनौठो अनौठो । हिड्दा हिड्दै सम्भार एउटा चौरमा पुग्यो । चौरमा एउटा सेतो घोडा चरिरहेको देख्यो । दन्त्य कथाहरुमा ब्याख्या गरिने राजकुमारले चढ्ने घोडा जस्तो, ठूलो, चिल्लो अनि बलियो । घोडा आफ्नै सुरमा चरिरहेको थियो । नजिकै बगेको खोलाको आवाजले ऊ तिर्खाएको महसुस गर्यो । झोलाको साइड पकेटमा राखेको बोत्तल भेटिएन । लहराहरुमा अल्झिएर कतै खसेको थियो सायद । ऊ खोला तर्फ लाग्यो । खोलाको किनारमा केटीको लुगा देख्यो, लुगाहरुसंगै पाउजु, सुनको सिक्री, औंठी, कानमा लगाउने झुम्का इत्यादी पनि देख्यो । खोलामा एउटी युवती नग्न अवस्थामा नुहाइरहेकि पनि देख्यो । सुन्दर, अति सुन्दर, उहीँ दन्त्य कथामा ब्याख्या गरिने राजकुमारी जस्तै । झल्यास्स बिउझियो !!!

अध्यारोलाइ गिज्याउदै पुर्वबाट घाम उदाउने तरखरमा थियो । चराचुरुङ्गीहरु पनि बिउझिसकेका थिए । सम्भारको आँखा हिजो कोरेको पेन्टिङमा पर्यो । पेन्टिङमा के कुराको कमि छ उसलाइ थाहा भयो र उसले सपनामा देखेको युवतीको मुहार त्यो पेन्टिङको युवतीसंग बदलिदियो । युवतीको सुन्दरताले पेन्टिङ जिवन्त देखियो ।
वाह ! ! ! गजब ।
आफैलाइ स्याबास भन्दै उ नित्यकर्म गरि जंगल तर्फ गयो । सपनामा देखेको बाटो हुँदै । त्यही चौर थियो तर घोडा थिएन, त्यही खोला थियो तर कुनै युवति थिइनन् । त्यहीँ बसेर पेन्टिङ गर्न थाल्यो । सपनामा देखेको दृश्य र आँखा अगाडिको दृश्य मिसाउदै । एउटी युवती खोलामा नग्न अवस्थामा नुहाइरहेको पेन्टिङ तयार भयो । ठ्याक्कै सपनामा देखेको जस्तै । फरक के भने खोला किनारमा घोडा पनि थियो । पेन्टिङ हेर्दा यस्तो लाग्थ्यो कि त्यो घोडा युवतीको रक्षा गरिरहेको थियो ।

झुपडी फर्किएर सम्भार खाना खाएर सुत्यो । सपनामा त्यही ठाउँ, त्यही घोडा अनि त्यही खोलामा त्यही युवती नुहाइरहेको देख्यो । सम्भार किनारमा बसेर हेरिरह्यो । निशब्द, बिना हलचल । केही क्षण पछि युवतीले सम्भारलाइ देखिन् । एकसुरले खोलाको पानीसंग मीत लगाउदै गरेको युवतीको ध्यान भंग भयो । युवतीको मुहारमा अलिकती डर, अलिकती रिस अनि अलिकती लाज प्रष्ट देखिइरहेको थियो । युवतीले आत्तिएर आफ्नो लाज छोप्न पानीमा आधा डुबेको शरीर घाटीसम्म लुकाइन । सम्भार पनि आफै आफैलाइ सराप्दै चौरतर्फ फर्कियो । एकछिन पछि खोलातिरबाट पाउजु बजेको आवाज आउदा सम्भारले आवाज आएको तिर नहेरी बस्न सकेन । युवती आफू तर्फ नै आउदै गरेको देख्यो । सेतो सारीमा गुलाबी चोलो लगाएकी, खुट्टामा पाउजु, घाटिमा सुनको मसिनो सिक्री, कानमा ठूलाठूला झुम्का, भिजेको कपाल अनि कपालबाट चुहिएको पानीले आधा भिजेकोे चोलो । भिजेको चोलोबाट भित्रि कपडाको रंग प्रष्ट छुट्याउन सकिन्थ्यो । भिजेको कपाल सम्भारलाइ असाध्यै मन पथ्र्यो । युवतीको मुहारमा अझै पनि अलिकती डर, अलिकती रिस अनि अलिकती लाज देख्न सकिन्थ्यो । टाढाबाट देखेको भन्दा नजिकैबाट देख्दा सम्भारलाई ति युवती झन सुन्दर लाग्यो । युवती घोडा चढेर आफ्नो बाटो लागिन् । सम्भार युवती गएको तिर हेरिरह्यो । केही छिनमै युवती सम्भारको आँखाबाट ओझेल परिन् ।

सम्भारको दिन यसरी नै बित्दै थियो । सम्भारले प्रत्येक रात सपना देख्थ्यो र सपनामा देखेको दृश्य सोही ठाउमा गएर आफ्नै पारामा पेन्टिङ गर्थ्यो । हप्ता दिन बितेर गयो सम्भार सधै सपनामा युवतीसंग भेट्ने गर्थ्यो । कुराकानीहरु हुन्थे । युवतीको नाम शुयष्मती रहेछ । उनिहरु बिच अनेकौ कुराकानिहरु साटासाट भए । सम्भार शुयष्मती तर्फ पहिलो नजरमै आकर्षित भएको थियो । बिस्तारै बढ्दै गएको सामिप्यताले ऊ शुयष्मतीलाई प्रेम गर्न थालिसकेको थियो । उसले दिनमा जंगल जान पनि छोडिसकेको थियो । सपनामा देखिएका झलकहरु नै काफी थिए उसको पेन्टिङको बिषय बन्नलाइ । दिनभरी सपना सम्झिदै चित्र बनाउथ्यो त राती सपनामा शुयष्मतीलाई भेट्न जान्थ्यो ।

Digital painting by Birochan Malla

जंगलमा आएर बसेको एक महिना जति भएको थियो । रासन सक्किदै गएको थियो । सम्भारको एकदमै मिल्ने साथी थियो बल्लभ । बल्लभ र सम्भार सानैदेखी संगै खेल्दै कुद्दै हुर्केका साथीहरु थिए । प्रत्येक महिना सम्भार जता गए पनि रासन लिएर भेट्न आउथ्यो बल्लभ । त्यो दिन बल्लभ रासन लिएर आइपुगेको थियो । सम्भारको नया पेन्टिङहरु देखेर बल्लभ तीनछक्क पर्यो । उसले सम्भारको यस्तो पेन्टिङ कहिल्यै देखेको थिएन । पहिलेको भन्दा राम्रो, धेरै गुणा राम्रो ।
को हो यो केटि?
सम्भार: शुयष्मती ।
बल्लभ: को शुयष्मती?
बच्चा देखिको आत्मिय साथीहरु सम्भार र बल्लभबिच सबैकुराहरु साटासाट हुन्थ्यो । यो कुरो पनि सम्भारले केही नछुटाइ सबै सुनायो । दुइजनाले टुकि बत्तिको मलिन उज्यालोमा ढडियामा परेको माछा र बल्लभले ल्याएको सुकुटी र लोक्कल रक्सीको चुस्कि संगै दुख सुखका कुराहरु साटे । भोलि पल्ट बल्लभ सहर फर्कियो र सम्भार फेरि पहिलेकै दिनचर्यामा फर्कियो ।

एउटा डाँडा थियो, डाँडामा, मात्र एउटा रुख थियो, एउटा बूढो रुख, रुख पछाडी ठूलो भिर थियो । सम्भार र शुयष्मती त्यही बूढो रुखको फेदमा बसिरहेका थिए । टाढा टाढा हिम शृङ्खला छर्लङ्ग देखिन्थे । हिमालबाट आएको चिसो सिरसिर हावाले शुयष्मतीको कपाल उडाइरहेको थियो । जंगलमा कोइलीले कुनै प्रचलित धुन गाउन खोजे झैँ लाग्थ्यो । सम्भारलाइ कोइलीको त्यो आवाजले आफ्नै प्रेम गित गाइरहेको हो जस्तो लाग्छ । मिठो स्वर अनि कर्णप्रीय संगितले भरिएको प्रेम गित जस्तै ।
“यो डाँडाको नाम सुसाइड डाँडा हो नि”
शुयष्मतीले भन्दै गइन् । “एक जमानामा कालंगा राज्यको राजकुमार र कालिगण राज्यको राजकुमारीको घनिष्ट प्रेम थियो रे, यहि जंगलमा शिकार खेल्ने बेलामा उनिहरुको भेट भएको थियो रे, दुइटा राज्य बिच पुर्खा देखिको दुश्मनी भएता पनि उनिहरु अरुको आँखा छल्दै यहिँ आएर भेट्ने गर्थे रे, एक दिन कागले उनिहरुको सम्बन्ध बारे दुबै राज्यमा कुरा लगाईदिएपछि दुई राज्यबिच ठूलो युद्ध भयो रे, युद्धमा ठूलो धन जनको क्षति भयो रे, हजारौ निर्दोष सैनिकहरु मारिए रे, निर्दोष सैनिकहरु मारिनुको दोष उनिहरुले आफुमाथी आफु माथि लिए रे, यो युद्धको जड नै नरहे युद्ध नै रहदैन भन्ने सोचेर दुई राज्यको विनाश रोक्न र हजारौ अरु सैनिकको ज्यान बचाउन उनिहरुले यहि भिरबाट हाम्फालेर आत्महत्या गरेका थिए रे ।” शुयष्मतीको काखमा आफ्नो टाउको बिसाएर सम्भार शुयष्मतीको हरेक कुरो ध्यान दिएर सुनिरहन्थ्यो । शुयष्मतीले जंगलको यस्तै कथाहरु सुनाउथिन् । जंगलमा भएका सुन्दर भन्दा अति सुन्दर ठाउहरुमा लिएर जान्थिन । शुयष्मतीले सम्भारलाइ घोडा चड्न पनि सिकाएकी थिइन् । सिक्ने क्रममा घोडाले लडाइदिएर टाउको ढुंगामा ठोक्कीन पुगेको र सो को दुखाइ बिपनामा समेत महसुस गरेको थियो सम्भारले । अब त घोडाले पनि सम्भारलाइ चिनिसकेको थियो । सम्भारले शुयष्मतीको लागि एउटा कविता लेखेको थियो । शुयष्मतीलाइ सुनन भन्दै घोक्रो सफा गरेर सम्भारले कविता वाचन गर्यो:

प्रिय शुयष्मती,
सपनी बनी आउनु तिमी,
मेरो सेरोफेरोमा छाउनु तिमी,
सजाइ राख्नेछु मन मुटुमै,
त्यही बसि रमाउनु तिमी,
प्रिय शुयष्मती,

सेतो घोडा,
हामी दुइको जोडा,
दैबको उपहार हो,
मेरो मनले तिम्रो मनमा राज गर्नु,
मैले फेर्ने हरेक श्वासमा तिमिले बास गर्नु,
दैबको पुरस्कार हो,
प्रिय शुयष्मती,

संगै जंगल डुलौला,
एक आपसमा भुलौला,
मृग संगै खेलौला,
कोइली संगै गाऔला,
मयुरसंगै नाचौला,
खुशी भइ बाचौला,
तिमि म मा फुलिरहनु,
म तिमीमा फुलिरहुला,
सधै सधैभरी,
जुनि जुनिभरी,
प्रिय शुयष्मती…

महिनौ बितेर गइसकेको थियो । झुपडी पनि पेन्टिङले भरिएको थियो । बल्लभ प्रत्येक महिना सम्भारलाइ रासन ल्याइदिन्थ्यो र सम्भारको कथा सुन्थ्यो । सम्भारलाइ निकै खुशी देखेर बल्लभपनि खुशी हुँदै फर्किन्थ्यो । एक दिन सम्भार निदायो । सपनामा शुयष्मती आइनन् । अर्को दिन पनि शुयष्मतीसंग भेट भएन । हप्ता बित्यो तर सपनामा शुयष्मती देखा परिनन् । शुयष्मतीको साथको अभावले सम्भार बौलाहा जस्तै भैसकेको थियो । सपना होस या बिपना ऊ शुयष्मतीलाई नै खोज्थ्यो । शुयष्मतीसंग गरेका कुराकानीहरु, रमाइला पलहरु सम्झिदै शुयष्मतीसंग धेरै बिताउने ठाउहरुमा गएर बसिरहन्थ्यो । जंगल भरी चारैतिर शुयष्मतीलाई खोज्दै हिड्थ्यो तर शुयष्मतीको नाम निशान भेटिदैन थियो । दुई हप्ता बितेर गयो तर शुयष्मतीको अत्तोपत्तो थिएन अब के गर्ने? के भयो शुयष्मतीलाई? कहाँ गईन् शुयष्मती? सम्भार केही सोच्नै सकि रहेको थिएन । शुयष्मती बिनाको जीवन उसलाई उजाड लागेको थियो ।

खोलामा पानी बगिरहेको थियो, पानी संगै भत्किएको ढडिया पनि बगिरहेको थियो, खोला किनारमा बसेर सम्भार बग्दै गरेको ढडियालाइ एकोहोरो हेरिरहेको थियो । मैलो कपडा, लामोलामो कपाल, झुस्स दाह्री जुँगा, लिखुरे शरीर । साभारको हुलियामा आमूल परिवर्तन आइसकेको थियो, थकित अनि बेसहारा देखिन्थ्यो ऊ, शुयष्मतीको खोजी गर्दा गर्दा लखतरान भइसकेको थियो । सम्भारको सबै जोश र जाँगर शुयष्मतीले आफुसंगै लिएर गाएब भएको थिइन् । चित्र कोर्न छोडेको पनि हप्तौ भइसकेको थियो । दिनभरी टोलाएर बस्थ्यो, रातभरी सपनामा सुसाइड डाडामा गएर बस्थ्यो । शुयष्मतीको सम्झनामा कयौ आँसुका ढिकाहरुले त्यही भिरबाट खसेर आत्महत्या गरेसकेका थिए ।

शुयष्मती

Digital Painting by Birochan Malla

साँझसंगै बल्लभ झुपडिमा आइपुगेको थियो, वातावरण एकदम शान्त, संसार नै ठप्प रोकिए जस्तो, हावामा नैराश्यताको गन्ध थियो । वरिपरि सम्भारलाइ नदेखे पछी बल्लभ आगो बालेर सम्भारलाई कुरेर बसिरहेको थियो, सम्भार चाहिँ अझै पनि खोलाको किनारमै टोलाएर बसिरहेको थियो । अँध्यारो जंगलमा सम्भारले अलिकती उज्यालो देख्यो, परको उज्यालो देखेर सम्भारको मनमा पनि आशाको दियो बल्यो, शुयष्मती भन्दै उ उज्यालो तर्फ लम्किसकेको थियो । उज्यालोमा पुगेर शुयष्मतीको सट्टा बल्लभलाई पाउदा सम्भारको मुहारको उज्यालो भने उडेर गयो । रातको दोश्रो प्रहर सुरु भैसक्दा पनि सम्भार झुपडी नआइपुगेपछी बल्लभ राँको बालेर सम्भारलाई खोज्न हिडेको रहेछ, आफुलाइ देखेपछी खुशी हुँदै ग्वाम्म अँगालो हाल्ने परम मित्रको यो हालत देखेर बल्लभको मनमा हजारौ प्रश्नले जन्म लिइसकेको थियो । के भयो? कसरी भयो यस्तो? कहाँ थिस? के गर्दै थिस? यस्तै यस्तै क बाट सुरु हुने हजारौ प्रश्नहरु । बिहान झिसमिसेमै उठेर बल्लभ सामान मिलाउदै थियो, अति आवश्यक पर्ने सामानहरु बाहेक अरु केही झोलामा हालेको थिएन उसले । सम्भारलाइ अघि लगाएर बल्लभ पछि पछि सहर तर्फ जाँदै थियो । सम्भार बेला बेलामा पछाडी फर्केर हेथ्र्याे, उसलाइ त्यो ठाउँ छोडेर जान मन नै थिएन, सात जुनिसम्म भए पनि ऊ त्यहीँ शुयष्मतीलाई कुरेर बस्न तयार थियो । बल्लभको करको अगाडि उसको केही नलागेपछी एउटा ज्ञानी बच्चा झैँ अघिअघि लुरुलुरु हिडिरहेको थियो । साझ तिर दुबै सहर पुगिसकेका थिए, त्यो दिन बल्लभ पनि सम्भारकै घरमा बसेको थियो । बेलुकी सुत्नु अघि बल्लभ सम्भार संग कुरा गर्ने कोसिस गर्दै थियो, एक पछि अर्को सवाल गर्दै थियो, उत्तरमा केवल सन्नाटा मात्र थियो । सम्भार मौन थियो, यस्तो लाग्थ्यो कि उसले बल्लभको केही कुरा सुनेकै थिएन । मुहारमा न खुशीको भाव थियो न पिडाको नै, थियो त केबल शून्यतामा विलीन भएको भाव, भित्र भित्रै कुहिदै गएको काठको मुढा जस्तो, अचल ढुंगा जस्तो, आत्मा बिनाको शरीर जस्तो ।

निकै ब्यस्त देखिन्थ्यो बल्लभ। नेपाल कला परिषदमा एक हप्ताको लागि पेन्टिङ एक्जिभिसन गर्ने भनेर बुकिङ गरिसकेको थियो उसले । सम्भारलाइ सहर ल्याएपछी चारजना भरिया लगेर झुपडिमा भएको सबै पेन्टिङहरु पनि ल्याइसकेको थियो । पेन्टिङ्हरु मिलाउदै, भित्तामा झुण्ड्याउदै एक्जिभिसनको सबै तयारी गरिसकेको थियो । बल्लभ एउटा इभेन्ट अर्गनाइजर हो, उसले धेरैको यस्ता एक्जिभिसन गराइसकेको थियो । त्यसैले आफ्नो परम मित्रको कामहरु प्रदर्शन गरेर प्रकाशमा ल्याउनु कुनै गाह्रो काम थिएन उसलाइ ।

सम्भार! भोलि देखि एक्जिभिसन छ, तेरो कलाको एक्जिभिसन । म तँलाइ त्यसै गुमनाम भएर जान दिन्न, तेरो कलालाई सबै सामु पुर्याउने छु, तेरो कथा, तेरो शुयष्मतीलाई सबैले चिन्न जरुरी छ । कला परिषदबाट सिधै सम्भारको घर आएर बल्लभ भन्दै थियो । जंगलबाट घर आएको एक महिना बितिसक्दा पनि सम्भारको हालतमा भने केही सुधार आएको थिएन । नेपाल कला परिषदमा मान्छेहरुको भिड थियो । पत्रकारहरु, आर्ट कलेक्टरहरु, नेता मन्त्रीहरु, वरिष्ठ कलाकारहरु । चित्रहरु सम्भारको जंगल बसाइमा घटेका घटनाहरुसंग मिल्नेगरी क्रमबद्ध तरिकाले मिलाएर राखिएका थिए । सुरुमा रमाइला खुशीका पलहरु झल्काउने खालका चित्रहरु थिए त अन्त्य तिर नरमाइला पिडाका पलहरु झल्काउने खालका थित्रहरु थिए । एक्जिभिसनमा आएका दर्शकहरुले पेन्टिङहरुको मुग्ध कण्ठले प्रशंसा गरेर जान्थे । भोलिपल्ट एक्जिभिसन बारे सबै पत्रपत्रिकामा छापिएको थियो । मान्छेहरुको भिड दिनदिनै बढ्दै थियो ।

एउटी युवती शुयष्मतीको पोट्रेट हेरेर बसिरहेकी थिइन् । युवतीको मुहारमा आश्चर्यको भाव झल्किन्थ्यो । त्यो भन्दा अगाडी शुयष्मतीको खोलामा नुहाईरहेको पेन्टिङ हेर्दा युवतीको मुहारमा लाज देखिन्थ्यो । बल्लभ एकजना आर्ट कलेक्टरलाई सम्पूर्ण कथा सहित पेन्टिङहरुको ब्याख्या गरिरहेको बेला उसको आँखा ति युवतीमा गएको थिया । युवतीलाई देख्ने बित्तिकै बल्लभ युवती सामु पुगिसकेको थियो । युवती दुरुस्तेै शुयष्मती जस्तै देखिन्थिन् । परिचय गर्दा युवतीले आफ्नो नाम सुश्रीना भएको बताएकी थिइन् । एक्जिभिसनका प्राय सबै पेन्टिङहरुमा उसले आफुलाइ देखेकी थिइन् । राम्रा राम्रा पेन्टिङमा आफुलाइ पाउँदा उसको आधा मन खुशीले उडिरहेको थियो त आधा मन आश्चर्य चकित भएको थियो ।

को हो सम्भार? मेरो मुहार यी पेन्टिङहरुमा कसरी? मेरो नै मुहार किन? सुश्रीनाको मनमा धेरै प्रश्नहरु थिए । बल्लभले सुश्रीनालाई सम्भारको सबै कथा सुनाएपछी सुश्रीनाको आधा प्रश्नहरुको जवाफ कथाले नै दिएको थियो तर उसको मनमा अझै अनेकौ सवालहरु थिए । सुश्रीनालाइ सम्भारलाइ भेट्ने इच्छा भइसकेको थियो ।

बल्लभ सुश्रीनालाई लिएर सम्भारको घर आएको थियो । सम्भार आफ्नै कोठामा थियो, कोठा ठूलो थियो, आर्ट स्टुडियो जस्तै, भित्ता भरी शुयष्मतीको तस्वीर कोरिएको । हाँसिरहेको शुयष्मतीको मुहारले एउटा भित्ता पुरै ढाकेको थियो । शुयस्मती हाँस्दा दाहिने गालामा खोपिल्टो पथ्र्यो । त्यस्तै सुश्रीना हास्दा पनि उसको दाहिने गालामै खोपिल्टो पथ्यो, ठ्याक्कै शुयष्मतीको जस्तै । शुयष्मती र सुश्रीना बिच केही भिन्नता नै थिएन । एउटा मात्र फरक के थियो भने शुयष्मती सपनामा आउथिन् त सुश्रीना भने बिपनामै आएकी थिइन् । सुश्रीनालाइ अगाडी देखेपछि सम्भार “शुयष्मती“ भन्दै उसलाइ अँगाल्न गइसकेको थियो । सम्भारको आँखाभरी आँसु थियो तर मुहारमा भने एउटा छुट्टै चमक देखिन्थ्यो । मुहारको बादल हटेर घाम लागेको जस्तो । सम्भारको हालत सुध्रने आशाले बल्लभले सुश्रीनालाई सधै सम्भारलाई भेट्न आउन आग्रह गरेको थियो । सुश्रीना पनि सधै सम्भारलाई भेट्न आउथिन् । उनीहरु कहिले संगै फिल्म हेर्थे त कहिले खेलहरु खेल्दै बस्थे । सुश्रीनाले सम्भारलाई उपन्यास पढेर सुनाउथिन् । अनि सम्भार चाहिँ उपन्यास सुन्दै चित्र कोथ्र्याे । कहिलेकाहीँ उनिहरु पार्कमा गएर घण्टौ कुराकानी गरेर बसिरहन्थे ।

सुश्रीनको आगमनले सम्भारको जीवनमा फेरि खुशी फर्किएको थियो । उसको मुहारमा मुस्कान फर्किएको थियो । जोश र जाँगर फर्किएको थियो । “म शुयष्मती होइन, म सुश्रीना हुँ“ भनेर भन्न मन थियो सुश्रीनालाइ, शुयष्मती बनेर सम्भारलाई धोका दिएको उसलाइ पटक्कै मन परेको थिएन । मनमा कता कता हीनताबोध भइरहेको थियो । सत्य थाहा पाउनु सम्भारको अधिकार पनि त थियो । तर यदि वास्तविकता थाहा पाएर सम्भार पहिलेको अवस्थामा फर्किने त होइन? उसलाइ डर लाग्थ्यो । सम्भारको मुहारको मुस्कान खोस्न मन थिएन उसलाई ।

सुश्रीना, शुयष्मती बनेर सम्भारलाइ भेट्न जान थालेको दुई महिना बितिसकेको थियो । जंगलबाट घर फर्के देखि हराएको सम्भारको राती देख्ने सपना पनि सुश्रीनासंगै फर्केर आएको थियो । सम्भार दिनमा सुश्रीनासंग हुन्थ्यो भने राती सपनामा चाहिँ त्यही जंगलको झुपडीमा गएर सुश्रीनासंगको पलहरु शुयष्मतीसंगको सम्झिदै पेन्टिङ गथ्र्यो । शुयष्मती भएको पलहरुलाई उ सपना ठान्थ्यो त झुपडिमा पेन्टिङ गर्दै बिताएका पलहरुलाई बिपना ठान्थ्यो । तर कहिलेकाहीँ बिपनामा मात्र आउने बल्लभसंगै शुयष्मती पनि आइदिदा कुन सपना, कुन बिपना ठम्याउनै सक्दैनथ्यो ।

रातको प्रथम प्रहर सुरु हुन लागेको थियो । सुश्रीना र सम्भार कौसीमा थिए, सहरभरी बत्तीहरु बल्न थालिसकेको थियो, हातमा सानो बाकस बोकेर बल्लभ कौसीमा आइपुग्यो, बाकसबाट केक निकालेर टेबुलमा राख्यो, केकमा लेखिएको थियो “Happy Birthday Sambhar” ।

त्यो दिन सम्भारको जन्मदिन थियो । सुश्रीना र बल्लभ “Happy Birthday to you” गाउदै ताली बजाउदै थिए, सम्भारले केक काट्यो । केक काट्दै गर्दा सम्भारको मनमा भने द्वन्द्व चलिरहेको थियो । सुश्रीनालाई हेथ्र्योे, अनि सोच्थ्यो यो सपना हो, बल्लभलाई हेथ्र्यो अनि सोच्थ्यो होइन यो त बिपना हो । यो सपना हो, होइन यो बिपना हो, होइन होइन यो सपनानै हो, कसरी हुन्छ? यो त बिपना हो ।

“आज यहि बस” भन्दै सम्भारले सुश्रीनालाइ कर गरिरहेको थियो । पहिले पनि सम्भारले धेरै पटक यसरी नै कर गरिसकेको थियो । सुश्रीना सधै केही न केही बहाना बनाएर आफ्नो घर जान्थी । “भोलि आउछु नि ल” भन्दै सुश्रीनाले फेरि अन्तिम पल्ट जन्मदिनको शुभकामना दिइन र आफ्नै घर फर्किइन । शुयष्मती सधै आफ्नै साथमा भए हुन्थ्यो भन्ने चाहन्थ्यो सम्भार । सुश्रीना गए लगत्तै सम्भार आफ्नो खाटमा आएर पल्टियो । म सुतेभने शुयष्मती पक्का आउने छिन् । म सधैंको लागि सुते भने शुयष्मती पक्का सधैको लागि आउने छिन् । यस्तो सोचेर सम्भारले टेबुलबाट स्लिपिङ ट्याब्लेटको बट्टा उठायो, बट्टामा भएको सबै स्लिपिङ ट्याब्लेट हातमा खान्यायो र मुखमा हालेर निल्यो । अनि शुयष्मतीको सधैको साथको आशामा चिर निद्रामा निदायो। सधै सधैको लागि…